सरकारद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ मात्र स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्।
भट्टराईले भने, “निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ। आवश्यक परे भविष्यमा सरकारले थप बजेटको सहजीकरण गर्नेछ।”
थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए । फागुन २१ गते चुनाव सम्पन्न गराउन चाहिने सामग्री पहिचान गर्ने काम भइरहेको र थप के–के व्यवस्था गर्नुपर्छ, त्यसको लेखाजोखा भइरहेको पनि आयोगले जनाएको छ ।
फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कुल २७५ सिटका लागि निर्वाचन हुनेछ । यसअघि प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सँगै हुँदा करिब सात अर्ब रुपैयाँ खर्च भएको थियो । यसपटक प्रतिनिधिसभाको मात्र चुनाव हुनेछ ।







