महाधिवेशनको विषयमा निर्णय ढिलो हुनु कमजोरी होइन, आवश्यक सावधानी :पूर्णबहादुर खड्का
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा महाधिवेशनको विषयले ठूलो तनाव र असहजता बढिरहेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता कार्यकर्तालाई धैर्यता अपनाउन आग्रह गरेका छन्।
पार्टीभित्र विवाद एकदमै ठूलो रूपमा फैलिंदै गएको अवस्थामा खड्काले सार्वजनिक सन्देशमार्फत् भावनामा नबगिन चेतावनी दिएका हुन्। शनिबार फेसबुकमा लेख्दै खड्काले महाधिवेशनका विषयमा निर्णय ढिलो हुनु कमजोरी होइन, आवश्यक सावधानी भएको दाबी गरे।
उनले पार्टीले अहिले भोगिरहेको समयलाई इतिहासमै सबैभन्दा प्रतिकूल भन्दै, हतारमा निर्णय लिन खोज्दा अझै भयावह परिणाम आउन सक्ने चेतावनी दिए। उनले, पार्टी एकता जोगाएर कठिन परिस्थिति सामना गर्न सक्ने निर्णय लिन केही समय लाग्नु स्वाभाविक भएको बताए । “पछुताउनु पर्ने निर्णय गर्नु भन्दा ढिलो भए पनि सही निर्णय गर्नु उचित हुन्छ,” भन्दै उनले कार्यकर्तालाई संयमता राख्न अपिल गरे।
कांग्रेसमा पछिल्लो समय तीन तहमा विवाद चुलिएको छ। संस्थापन पक्ष आगामी निर्वाचनपछि मात्र महाधिवेशन गर्न चाहन्छ, जबकि इतर धार निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने जिकिर गर्दै आएको छ। यसैबीच तेस्रो समूहले देशभर हस्ताक्षर अभियान सञ्चालन गरी पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने दाबी अडानका साथ अघि बढाइरहेको छ।
सो समूहको मागमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले समेत खुलेर समर्थन जनाएका छन्। २१ फागुनमा तय गरिएको निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रको महाधिवेशन विवाद झनै एकदमै कठोर मोडतिर पुगेको छ।












