मधेसका मुख्यमन्त्री यादवको भारतीय दूतावासमाथि गम्भीर आरोप, सुरक्षा जोखिम बढेको दाबी

User Image Prime TV News ६ दिन अगाडि
Image of मधेसका मुख्यमन्त्री यादवको भारतीय दूतावासमाथि गम्भीर आरोप, सुरक्षा जोखिम बढेको दाबी

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले प्रदेशका राजनीतिक दलहरूलाई धम्क्याएको आरोप सार्वजनिक रूपमा लगाएका छन्।

शनिबार प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जस्थित भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई बारम्बार दबाब र धम्की आउने गरेको दाबी गरे।

यादवले काउन्सलर कार्यालयका अधिकारीहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी, फोन र अन्य माध्यमबाट दल फुटाइदिन्छु भन्ने जस्ता अभिव्यक्तिसहित हस्तक्षेप गरेको आरोप लगाए।

उनका अनुसार मधेसमा बढ्दो राजनीतिक अस्थिरताको मुख्य कारण नै बाह्य दबाब हो, जसले प्रदेशको आन्तरिक राजनीतिक प्रक्रियामा असर पारेको छ। सम्बोधनमा मुख्यमन्त्री यादवले आफू सुरक्षा जोखिममा परेको खुलासा पनि गरे।

सुरक्षा निकायले विशेष सतर्कता अपनाउन सुझाव दिएको उल्लेख गर्दै उनले आफ्ना सार्वजनिक कार्यक्रमहरू सीमित राख्न निर्देशन आएको बताए। यादवका अनुसार उनी मात्र होइन, मन्त्रीहरू र प्रदेशसभा सदस्यहरू समेत सुरक्षा थ्रेटको दायरामा छन्।