एनपीएल दोस्रो संस्करणमा पुरस्कार राशि नबढ्ने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पनि विजेतालगायत विभिन्न स्थानमा रहने टोलीहरूको पुरस्कार राशि गत वर्षकै दरमा कायम राख्ने निर्णय भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार गरेको पत्रकार सम्मेलनमा क्यान सचिव पारस खड्काले यस वर्ष पुरस्कारमा कुनै वृद्धि नहुने स्पष्ट बताए। पहिलो संस्करणमा विजेता टोलीले १ करोड १० लाख रुपैयाँ हात पारेको थियो।
उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गरेका थिए। क्यानले यही संरचना दोहोर्याउँदै दोस्रो संस्करणको पुरस्कार वितरण गर्ने तयारी गरेको छ।
खेलाडीहरूलाई व्यक्तिगत रूपमा दिइने पुरस्कारबारे भने क्यानले अझै विवरण सार्वजनिक गरेको छैन। सचिव खड्काका अनुसार व्यक्तिगत पुरस्कारको दर र विधि पछि औपचारिक रूपमा जानकारी गराइने छ।
एनपीएलको दोस्रो संस्करण नजिकिँदै गर्दा पुरस्कार संरचना यथावत राखिएको जानकारीले प्रतियोगिताको तयारी चरणमा रहेको क्लब र खेलाडीहरूबीच मिश्रित प्रतिक्रिया आउने अनुमान गरिएको छ।







