साउदी अरबमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, ४२ को ज्यान गयो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साउदी अरबको मुहरास क्षेत्रमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा परेर ४२ जनाको निधन भएको छ। मक्काबाट मदिना जाँदै गरेको बस सोमबार राति दुर्घटनामा पर्दा ज्यान जानेमध्ये २० महिला र ११ बालबालिका रहेको बताइएको छ।
दुर्घटना भारतीय समयअनुसार राति १:३० बजे भएको हो। धेरै यात्रुहरू सो समयमा सुतिरहेको अनुमान गरिएकाले क्षति बढी भएको अधिकारीहरूको भनाइ छ। बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगो लागेको र नियन्त्रणबाहिर फैलिएपछि यात्रुहरूलाई उद्धार गर्न कठिनाइ भएको बताइएको छ।
दुर्घटनामा परेकाहरूको अधिकांश हैदराबादका नागरिक रहेको र उनीहरू धार्मिक तीर्थयात्राका लागि साउदी अरब पुगेका थिए। प्रारम्भिक रिपोर्टहरूमा मृतक सबै भारतीय भएको दाबी गरिएको छ। यस घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित केन्द्र सरकारका सम्बन्धित निकायलाई दूतावाससँग सहकार्य गर्दै पीडितहरूको पहिचान, कागजी प्रक्रिया र उद्धारसम्बन्धी सहयोग छिटो गर्न निर्देशन दिएका छन्।













