प्रचण्डको आरोप : दुई–तिहाईको दम्भले मुलुकलाई संकटमा पुर्यायो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाईको अहंकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुशासन र दमनको बाटो रोज्दा मुलुक आजको जटिल राजनीतिक अवस्थाबाट गुज्रिनुपरेको आरोप लगाएका छन्।
बिहीबार बिहान सार्वजनिक एक विज्ञप्तिमार्फत प्रचण्डले जनआक्रोशको हालको स्वरूपलाई ओली सरकारको अराजक शैलीको परिणाम भनेका छन्। उनले आफ्नो नेतृत्वमा बनेको सरकारद्वारा चालेका सुशासनका कदमहरूबाट त्रसित भएर कांग्रेस–एमाले मिलेर गठबन्धन सरकार बनाएको दाबी गर्दै, त्यसै सरकारको निरंकुश व्यवहारका कारण जनता, विशेषगरी जेनजेड पुस्ताको असन्तोषले विष्फोटको रुप लिएको उल्लेख गरेका छन्।
प्रचण्डले जारी गरेको १० बुँदे धारणा पत्रमा जेन जेड पुस्ताले उठाएका मागहरू संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्नुपर्नेमा विशेष जोड दिएका छन्। उनले मुलुकमा शान्ति सुरक्षा कायम राख्न राष्ट्रपतिद्वारा भइरहेका पहल र नेपाली सेना लगायत सुरक्षा निकायले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्।
‘जेन जेड पुस्ताले उठाएका मागहरू संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसकालागि राष्ट्रपतिबाट भइरहेको पहल र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलेको भूमिकाको सराहना गर्दछु।’
पूर्वप्रधानमन्त्री प्रचण्डले देशलाई निकास दिन सबै पक्षलाई संयमता, उच्च राजनीतिक सुझबुझ, व्यापक संवाद र शान्तिपूर्ण समाधानको बाटो रोज्न आग्रह गरेका छन्। साथै, अहिलेको प्रतिकूल परिस्थितिमा पनि भविष्यप्रति आशावादी रहन, विचलित नहुन र संविधान तथा लोकतन्त्रको पक्षमा दृढ भएर उभिन आम जनसमुदायलाई आह्वान गरेका छन्।
हेर्नुहोस् विज्ञप्ती :