निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा बैंकहरू आंशिक रूपमा सञ्चालन
Prime TV News एक बर्ष अगाडि 
काठमाडौँ । निषेधाज्ञा जारी रहे पनि काठमाडौँ उपत्यकाका बैंकहरू आंशिक रूपमा सञ्चालनमा आएका छन्। सोमबारदेखि तीव्र बनेको जेनजी आन्दोलनका कारण बन्द रहेका बैंकहरू बिहीबारदेखि पुनः सेवा दिन थालेका हुन्।
आन्दोलनको क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका केही बैंकमा आगजनी तथा लुटपाटका घटना भए पनि समग्रमा क्षति नभएको जनाइएको छ। त्यसैका आधारमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको संगठन नेपाल बैंकर्स संघले बिहीबार चार घण्टाकालागि बैंक खोल्ने निर्णय गरेको हो।
बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिन अनुमति दिइएको छ। संघले हरेक बैंकलाई उपत्यकाभित्र अधिकतम तीनवटासम्म शाखा सञ्चालन गर्न निर्देशन दिएको छ। बैंकर्स संघको निर्देशन अनुसार काठमाडौँका अधिकांश वाणिज्य बैंकहरूले सीमित शाखामार्फत सेवा दिन थालेका छन्। विकास बैंकहरूले पनि फाट्टफुट्ट रूपमा सेवा सञ्चालन गरिरहेका छन्। साथै, अन्य वित्तीय सेवा प्रदायक संस्थाहरूले पनि आंशिक रूपमा सेवा सुरु गरेका छन्।
सुरक्षाका चुनौतीका बीच सुरु गरिएको सेवा पूर्ण रूपमा नियमित भइसकेको भने छैन। परिस्थितिको मूल्याङ्कन गर्दै सेवा क्रमशः विस्तार गरिने बताईएको छ ।







