नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु


काठमाडौं । नेपाली कांग्रेसले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदका लागि उम्मेदवार चयन गर्न आज पार्टीको शीर्षस्तरीय पदाधिकारी बैठक सुरु गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा आगामी सभापति चयनका विषयमा गम्भीर छलफल भइरहेको छ।
यसअघि समितिका सभापति रहेका रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकमा कुलिङ पिरियडु सम्बन्धी विवादित चलखेलका कारण नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिएका थिए। खतिवडाको राजीनामापछि सभापति पद रिक्त भएको हो र उक्त पदमा पुनः निर्वाचनको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ। कार्यकालिका अनुसार आज समिति सभापतिका लागि उम्मेद्वारी मनाेनयन प्रक्रिया सुरु हुँदैछ ।
संसदीय व्यवस्थाअन्तर्गत कांग्रेसले नै सो समिति सभापति पद पाउने पक्का भएकाले अहिले पार्टीभित्र उम्मेदवार चयनका लागि आन्तरिक शक्ति सन्तुलनको कसरत चलिरहेको छ। सोमबार पनि कांग्रेसका पदाधिकारी—सभापति, उपसभापति र महामन्त्रीहरूबीच छलफल भएको थियो। तर, सहमति नजुटेपछि आज पुनः बैठक बोलाइएको हो।
शेखर समूहको अडान
सभापति चयनलाई लिएर कांग्रेसभित्रको संस्थापन र संस्थापनइतर समूहबीच मतभेद चुलिएको छ। संस्थापनइतर नेता डा शेखर कोइरालाले यो पद आफ्ना पक्षले पाउनु पर्ने अडान स्पष्ट रूपमा राखेका छन्। यसले आजको बैठकलाई अझै संवेदनशील बनाएको छ।
बैठकमा कुनै सहमति जुट्ने सम्भावना के कति छ भन्नेबारे पार्टी स्रोतहरू सतर्क छन्, तर नेताहरूबीच शक्ति सन्तुलन कायम गर्ने प्रयास चलिरहेको बताइएको छ। अबको निर्णयले कांग्रेसभित्रको शक्ति संरचना मात्र होइन, समितिको भावी कार्यदिशालाई पनि असर पुर्याउने अनुमान गरिँदैछ।