नेपाली कांग्रेसमा महाधिवेशन विवादले संस्थापन पक्ष विभाजित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका संस्थापन पक्षभित्र महाधिवेशनको मिति र समयलाई लिएर विवाद चर्किएको छ।
सभापति शेरबहादुर देउवा निकट नेताहरू दुई समूहमा विभाजित भएका छन्। केही नेताहरू चुनावपछि महाधिवेशन गर्ने पक्षमा रहेका छन् भने अर्का केही नेताहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन्।
केन्द्रीय समिति बैठकको अघिल्लो दिन दुवै समूह आ-आफ्नै स्थानमा छलफलमा जुटेका थिए। बानेश्वरमा चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्ष छलफल गरिरहेको छ भने कुपन्डोलमा चुनावअघि महाधिवेशन चाहने नेताहरू सक्रिय छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाइएको पनि जानकारी छ। भोलि दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकअघि इतर पक्षले विशेष महाधिवेशनको पक्षमा दबाब बढाएको बताइएको छ। सिंगापुरबाट फर्किएका सभापति शेरबहादुर देउवा पनि आफ्ना निकट नेतासँग परामर्शमा रहेका छन् ।
बैठकमा उपस्थित नहुनुपरे पनि निवासमै नेताहरूसँग निरन्तर संवादमा छन् । एकातिर सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोके संगै निर्वाचनको कार्यक्रम समेत सार्वजनिक गरि सकेको छ ।
जस अनुसार यहि मंसीर १० गते भित्र दल दर्ता गर्नुपर्ने कार्यतालिका छ । तर कांग्रेसको केन्द्रीय समिति महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने बिवादले दल दर्ताको प्रक्रियामा समेत कांग्रेस अन्योलमा परेको छ ।













