ओलीको आरोप : ‘बोलेको भरमा दुर्गा प्रसाईँलाई थुन्न मिल्दैन, सरकारले तुरुन्त रिहा गर्नुपर्छ’

User Image Prime TV News २ दिन अगाडि
Image of ओलीको आरोप : ‘बोलेको भरमा दुर्गा प्रसाईँलाई थुन्न मिल्दैन, सरकारले तुरुन्त रिहा गर्नुपर्छ’

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईँको पक्राउलाई मनमानी र मानवअधिकारविरुद्धको कार्य भन्दै सरकारलाई तुरुन्त रिहाइ गर्न आग्रह गरेका छन्।

बुधबार च्यासलमा एमाले स्थानीय विकास विभागद्वारा आयोजित स्थानीय जनप्रतिनिधिहरूको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले प्रसाईलाई मध्यरातमा सुतिरहेको अवस्थामा आतङ्कित बनाउँदै पक्राउ गर्नु लोकतान्त्रिक सरकारको व्यवहार हुन नसक्ने बताए।

उनले राष्ट्रिय मानव अधिकार आयोगले समेत अभिव्यक्तिका आधारमा गरिएको पक्राउ मानवअधिकार उल्लङ्घन हो भन्ने स्पष्ट मत व्यक्त गरिसकेकाले सरकारले प्रसाईलाई थुनिराख्ने आधार नभएको बताए ।

ओलीले दिनमा भिडियो सार्वजनिक गरेको व्यक्तिलाई राति घरबाट समात्नु सरकारको असुरक्षा र कमजोर प्रतिक्रिया भएको टिप्पणी गरे। “दुर्गा प्रसाईँले देखाएको भिडियोको जवाफ सरकारसँग छ कि छैन? प्रश्नको जवाफ थुनेर दिइँदैन,” उनले भने। सरकारले आलोचकको मुख बन्द गराएर समस्या समाधान हुने नसोच्न ओलीले चेतावनी समेत दिए ।