ट्रम्पले युक्रेन–रूस युद्धविरामको खाका अघि सारेपछि कूटनीतिक हलचल

User Image Prime TV News ३ महिना अगाडि
Image of ट्रम्पले युक्रेन–रूस युद्धविरामको खाका अघि सारेपछि कूटनीतिक हलचल

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि तयार पारेको प्रस्ताव सार्वजनिक भएसंगै नयाँ कूटनीतिक हलचल उत्पन्न भएको छ ।

झन्डै तीन वर्षदेखि जारी युद्ध रोक्नका लागि ट्रम्पले अघि सारेका दुई प्रमुख प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसमक्ष पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार ट्रम्पले प्रस्तुत गरेको मसौदामा युक्रेनले आफ्नो केही भूभाग त्याग्नुपर्ने र युक्रेनी सेनाको आकार घटाउनुपर्ने उल्लेख छ ।

दुवै माग यता रूसले लगातार उठाउँदै आएको विषय हुन्। युद्धक्रममा कब्जामा आएका क्षेत्रहरू रूसकै दाबीमा रहने अडान पुटिनले कायम राख्दै आएका छन् । साथै सेनाको आकार घटाउने कुरा युक्रेनले नेटो सदस्यता नलिनुपर्ने संकेतका रूपमा व्याख्या भइरहेको छ।

बिबिसीका अनुसार अमेरिकी सेना सचिव डान ड्रिस्कोलको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल किभ पुगेको छ। सेनाका प्रमुख जनरल र्‍यान्डी जर्ज पनि टोलीमा रहेका छन्। उनीहरू बिहीबार राष्ट्रपति जेलेन्स्कीसँग भेटेर युद्धविराम प्रस्तावबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

युक्रेन र उसका युरोपेली सहयोगी देशहरूले भूमि त्याग र सैन्य क्षमतामा कटौती समावेश भएको कुनै पनि समझौताप्रति असहमति जनाउँदै आएका छन्। तर पूर्वी युक्रेनमा बढ्दो रूसी आक्रमण र किभभित्रका भ्रष्टाचार प्रकरणका कारण जेलेन्स्कीलाई आन्तरिक तथा बाह्य दबाब बढेको रोयटर्सले उल्लेख गरेको छ ।

जेलेन्स्कीले अमेरिकाको प्रस्ताव पूर्ण रूपमा अस्वीकार त गरेका छैनन्, तर युद्धविरामका लागि अमेरिका स्वयंले बलियो नेतृत्व लिनुपर्ने बताएका छन्।