बञ्चरेडाँडामा आन्दोलन जारी, काठमाडौं उपत्यकाको फोहोर विसर्जन अवरुद्ध
Prime TV News एक दिन अगाडि 
काठमाडौ । बञ्चरेडाँडाका स्थानीयहरूले काठमाडौं उपत्यकाबाट आउने फोहोर विसर्जनमा अवरोध गर्दै दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन्।
स्थानीय आन्दोलनका कारण करिब ३०० फोहोर बोक्ने गाडी रोकेको धुनिबेँसी नगरपालिका अध्यक्ष प्रकाश हमालले जानकारी दिएका छन्। स्थानीयहरूले आफ्ना पुराना माग पूरा नभएको मात्र नभई केही नयाँ माग पनि थप भएको बताएका छन्।
आन्दोलनरत अमृत तामाङले भने, "केही नयाँ माग थपिएका छन्। काठमाडौं महानगरपालिकाले वार्तामार्फत समाधान खोज्नुपर्छ।" बुधबार सहरी विकासमन्त्री कुलमान घिसिङसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलन दोहोरिएको हो।
काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन र अन्य पालिकाबाट ७ सय टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिलमा पुग्दछ। महानगरपालिकाले भने आन्दोलन अनावश्यक रहेको दाबी गर्दै माग पूरा भइसकेको र गाडी तोडफोडको मुद्दा फिर्ता लिनुपर्ने बताएको छ। यसअघि मन्त्री घिसिङले १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाइसकेका थिए ।













