परिवर्तनका एजेण्डा हटाउने प्रयास स्वीकार्य छैन: वृहत नागरिक आन्दोलन


काठमाडौ । वृहत नागरिक आन्दोलनले नेपाली सेनाको संलग्नतामा राजतन्त्र पुनर्स्थापना र धर्मनिरपेक्षता हटाउने प्रयास भइरहेको गम्भीर आरोप लगाएको छ। बिहीबार जारी विज्ञप्तिमा आन्दोलनले यस्ता प्रयासहरूलाई प्रतिगामी षड्यन्त्रका रूपमा व्याख्या गर्दै तीव्र आपत्ति जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “अहिले स्पष्ट हुँदै गएको छ कि जेनजी आन्दोलनका सहिदहरूको बलिदानीमाथि टेक्दै सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता समाप्त पार्ने षड्यन्त्र मञ्चन भइरहेको छ, जुन हामीलाई स्वीकार्य छैन।”
आन्दोलनले संविधानबाहिरका गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। उसले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता मूल्यहरूलाई सुरक्षित राख्नका लागि २०७२ सालको संविधानमा अडिग रहन सबै पक्षसँग आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “यस संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो आधार नेपालको संविधान हो। त्यसमा अडिग रहँदै, राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो।”
नागरिक आन्दोलनले नेपाली सेनाको नेतृत्वलाई असंवैधानिक गतिविधिमा संलग्न नहुन पनि आग्रह गरेको छ। उसले सेनासँग प्रतिक्रान्तिकारी समूहहरूको कुनै किसिमको अन्तरक्रिया बन्द गर्न माग गर्दै, आगामी सबै छलफल र कार्यक्रमहरू राष्ट्रपति नेतृत्वमा हुनुपर्ने स्पष्ट पारेको छ। “नेपाली सेनाले संविधानले तोकेको भूमिकामा सीमित रहनुपर्छ। राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी राजनीतिक छलफलहरू अगाडि बढ्नुपर्छ।” विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, अब बन्ने नागरिक सरकारमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने शक्तिहरूलाई कुनै स्थान दिन नहुने आन्दोलनको धारणा छ। उसले नागरिक समाज जनआन्दोलनका मूल्यहरूको रक्षाका लागि सतर्क र सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ।