रवि र छविको सहकारी ठगी मुद्दा उच्च अदालतमा स्थगित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशी माथि सुप्रिम सहकारी संस्थाबाट ठगी तथा सङ्गठित अपराधको आरोपमा दायर मुद्दा उच्च अदालतमा पनि स्थगित भएको छ।
पाटन उच्च अदालतमा न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराई को संयुक्त इजलासमा बिहीबार पेशी तय भएको थियो। तर लामिछानेका कानुन व्यवसायीको निवेदनमा पेशी स्थगित गरिएको छ।
यो मुद्दा मूलतः काठमाडौँ जिल्ला अदालतले धरौटी माग्ने आदेशविरुद्ध उच्च अदालतमा पुगेको हो। त्यस्तै, उच्च अदालत बुटवलमा पनि आजका लागि तोकिएको पेशी स्थगित भएको छ। रास्वपा सभापति लामिछानेले थुनाबाहिर रहेर मुद्दा लड्न पाउने अनुमति माग गर्दै निवेदन दिएका थिए ।
तर उक्त निवेदनमाथिको सुनुवाइ स्थगित गरिएको छ। हाल, रवि लामिछाने र छविलाल जोशी दुवै थुनामा रहेका छन्। उक्त मुद्दामा आगामी सुनुवाइको मिति भने अझै तोकिएको छैन।












