सिमरामा फेरि तनाव: कर्फ्यु उल्लंघनपछि प्रहरीको अश्रुग्यास र हवाई फायर

User Image Prime TV News एक दिन अगाडि
Image of सिमरामा फेरि तनाव: कर्फ्यु उल्लंघनपछि प्रहरीको अश्रुग्यास र हवाई फायर

बारा । बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबार पुनः तनाव वाढेपछि प्रहरीले स्थिति नियन्त्रणकालागि अश्रुग्यास र हवाई फायर गरेको छ । कर्फ्यु आदेशलाई उल्लंघन गर्दै जेनजी समूहका प्रदर्शनकारी सडकमा उत्रिएपछि अवस्था संवेदनशील बनेको प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार भीड तितर बितर गर्न चार राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङका अनुसार परिस्थिति बिग्रन नदिन र थप भिडन्त रोक्न यस्तो कदम चालिएको हो।

प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरी तर्फका एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार घाइते भएका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। जेनजी युवामाथि भएको आक्रमणका दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने माग राख्दै स्थानीय युवाहरू लगातार दबाब दिइरहेका छन्।

आन्दोलन चर्किएपछि प्रहरीले हालसम्म दुई जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। बारा प्रशासनले कर्फ्युलगायतका सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको र स्थानीयवासीलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह अपिल गर्दै आएको छ ।