सिमरामा तनाव रोकिएन, प्रमुख जिल्ला अधिकारीद्वारा वार्ताको पहल

User Image Prime TV News एक दिन अगाडि
Image of सिमरामा तनाव रोकिएन, प्रमुख जिल्ला अधिकारीद्वारा वार्ताको पहल

बारा । सिमरा क्षेत्रमा जेनजी युवाको आन्दोलन चर्किंदै जाँदा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले द्वन्द्व समाधानका लागि वार्ताको पहल गरेका छन्।

बुधबार जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गर्दै मिश्रले “समस्या समाधानको एकमात्र मार्ग संवाद हो” भन्दै वार्तामा बस्न औपचारिक आह्वान गरेका हुन्। तर आन्दोलनरत जेनजी युवाले प्रशासन कार्यालयमा जान सकिने अवस्था नरहेको भन्दै वार्ता स्थल परिवर्तनको माग गरेका छन्।

अगुवा उपाध्यायले भने, “प्रशासन कार्यालय जान भनिएको थियो, तर अहिले धेरै युवा प्रहरीको लाठीचार्जबाट घाइते छन्। हामी त्यहाँ जाँदा भीड पनि त्यतै जान सक्छ, त्यसले थप जोखिम निम्त्याउन सक्छ।

त्यसैले हामीले वार्ता इलाका प्रहरी कार्यालय सिमरामा नै हुनुपर्छ भन्ने अडान राखेका छौँ।” यसअघि कर्फ्यु आदेशको अवज्ञा गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास र दुई राउन्ड हवाई फायर गरेको थियो।

भिडन्तका क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार गरी चारजना सुरक्षाकर्मी घाइते भएका छन्। जेनजी युवामाथि भएको आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयले दबाब बढाएपछि प्रहरीले दुई जना वडाध्यक्षलाई पक्राउ गरिसकेको छ।

परिस्थितिलाई नियन्त्रणमा लिन सिमरा क्षेत्रमा सुरक्षा सतर्कता कडाइका साथ लागू गरेको छ ।