एमालेको आग्रह: संविधान र लोकतान्त्रिक प्रक्रिया मार्फत राजनीतिक निकास खोजिनुपर्छ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of एमालेको आग्रह: संविधान र लोकतान्त्रिक प्रक्रिया मार्फत राजनीतिक निकास खोजिनुपर्छ

काठमाडौँ ।  नेकपा (एमाले) ले प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न राजनीतिक अन्योलको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड दिएको छ। पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै अबको निकास लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा उनले लेखेका छन्,"प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ।"

महासचिव पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता विषयहरूमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्। यिनै विषयहरूलाई वर्तमान युवा पुस्ताको प्रमुख सरोकारका रूपमा उल्लेख गर्दै उनले राज्यका नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने धारणा राखेका छन्।

उनले वर्तमान राजनीतिक परिस्थितिको समाधानका लागि राष्ट्रपतिलाई नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन्। "संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ", विज्ञप्तिमा उल्लेख गरिएको छ।

आठ बुँदे विज्ञप्तिमा पोखरेलले सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार तथा स्थानीय तहहरूलाई लोकतन्त्रको रक्षाका लागि आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। उनले स्थानीय तहहरूले जनताको सेवा प्रवाहमा कुनै अवरोध नआउने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन्।

उनले सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि सहमति र समझदारी निर्माण गर्न आग्रह गरेका छन्।

विज्ञप्ति पढ्नुहोस्: