जेनजी आन्दोलन: निजी र सार्वजनिक सम्पत्तिमा अकल्पनीय क्षति, लगानी वातावरण थप जोखिममा


काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन मंगलबार राजधानी काठमाडौंसहित देशका विभिन्न सहरहरूमा व्यापक हिंसा र तोडफोडका घटनामा निजी क्षेत्र, उद्यमी, उद्योगपति, बहुराष्ट्रिय कम्पनी, सञ्चारमाध्यम तथा संवैधानिक निकायहरूसमेत लक्षित रूपमा आक्रमणमा परेका छन्।
प्रदर्शनकारी समूहले सुपरमार्केट, उद्योग, होटल, शैक्षिक संस्था, सञ्चारगृह, बैंक तथा हवाई सेवा कम्पनीहरूमा तोडफोड र आगजनी गर्नुका साथै थुप्रै उद्यमीहरूको निजी आवास तथा कार्यालयमा समेत आक्रमण गरेका छन्। यस घटनाका कारण निजी क्षेत्रले खर्बौं रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको छ भने लगानीकर्ता तथा व्यवसायीहरूले देशको लगानी वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। काठमाडौं उपत्यकासहित विराटनगर, धरान, दमक, पोखरा, बिर्तामोड, हेटौंडा र भरतपुरमा जेनजी आन्दोलनका क्रममा संगठित रूपमा आक्रमण भएका छन्।
आन्दोलनकारी समूहहरूले पेट्रोल, ग्यास सिलिन्डर, सलाइ र लाइटरसहित आक्रमण गरेका थिए। लुटपाटपछि आगजनी गर्ने शैली धेरैजसो स्थानमा समान देखिएको व्यवसायीहरूको भनाइ छ ।
भाटभटेनी सुपरमार्केट आन्दोलनको मुख्य निशाना
मीनबहादुर गुरुङद्वारा सञ्चालित भाटभटेनी सुपरमार्केट आन्दोलनको सबैभन्दा ठूलो निशानामा पर्यो। काठमाडौं उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर, राधेराधे, कलंकीलगायत १४ वटा शाखामा आगजनी र लुटपाट भएको छ। राजधानी बाहिरका शाखाहरू – विराटनगर, धरान, दमक, बिर्तामोड, पोखरा, हेटौंडा र भरतपुरमा समेत क्षति पुगेको छ।
अन्य प्रमुख क्षति विवरण
विनोद चौधरी – रविभवनस्थित निजी निवासमा आगजनी, सम्पूर्ण भवन जलेर नष्ट, आधा दर्जन सवारीसाधन खरानी। सतुंगलस्थित सीजी डिजिटल पार्क, थापाथली र रविभवनका शोरुममा तोडफोड तथा आगजनी।
उपेन्द्र महतो – भाटभटेनीस्थित आवासमा लुटपाट र आगजनी।
शेखर गोल्छा – सितापाइला निवास आंशिक रूपमा जलेको, चार गाडी पूर्णरूपमा नष्ट।
हिल्टन होटल (शंकर ग्रुप) – नक्सालस्थित होटल पूर्णरूपमा ध्वस्त।
कान्तिपुर मिडिया ग्रुप – थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आगजनी, समाचारकक्षमा पूर्ण क्षति। तीनकुनेस्थित कान्तिपुर कम्प्लेक्समा पनि तोडफोड।
अन्नपूर्ण पोष्ट – गैरीगाउँस्थित टावरमा आगजनी, सञ्चालक रामेश्वर थापाको हेलिकोप्टर र काभ्रेस्थित निवासमा क्षति।
पवन गोल्यान – बानेश्वरस्थित गोल्यान टावरमा तोडफोड।
राजेन्द्र बजगाईं (सांसद) – बालुवाटारस्थित वर्णवास होटलमा आगजनी।
मारवाडी सेवा समिति टावर (बत्तीसपुतली) – हिमालयन बैंक, हिमालयन जाभा कफी लगायतका कार्यालयहरूमा आगजनी।
चन्द्र ढकाल समूह – चन्द्रागिरि र मौलाकाली केबलकारको बटम स्टेसनमा आगजनी।
ग्लोबल कलेज अफ म्यानेजमेन्ट (पुरानो बानेश्वर) – तोडफोड तथा आगजनी।
हायात होटल – आन्दोलनकारी समूहद्वारा व्यापक तोडफोड।
एनसेल – मुख्यालयमा आगजनी।
राष्ट्रिय वाणिज्य बैंक – बानेश्वर शाखामा तोडफोड।
सिम्रिक एयर – तीनकुनेस्थित मुख्यालयमा आगजनी।
संवैधानिक निकायहरू पनि निशानामा
साथै, आन्दोलनकारीहरूले सिंहदरबार, प्रधानमन्त्री निवास, शीतल निवास तथा सर्वोच्च अदालतसम्म आक्रमण गरेका छन्। सर्वोच्च अदालत र सरकारी वकिल कार्यालयमा गरिएको हमला अत्यन्त चिन्ताजनक मानिएको छ।
राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनका कारण नेपालमा लगानीको वातावरण थप असुरक्षित बन्न गएको छ। विशेषगरी, प्रत्यक्ष विदेशी लगानी र ठूला व्यावसायिक परियोजनाहरू अब थप जोखिममा परेका छन्। व्यवसायी र औद्योगिक संघसंस्थाहरूले सरकारसँग लगानी सुरक्षाका लागि प्रभावकारी रणनीति अवलम्बन गर्न आग्रह गरेका छन्।