सिमरामा दुई दिनदेखिको तनाव कम हुँदै, मुख्य अभियुक्त पक्राउपछि सहमति खोज्ने प्रयास तीव्र
Prime TV News १९ घण्टा अगाडि 
बारा । बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनाव बिहीबारसम्म पनि जारी रह्यो। जेनजी युवा समूह र एमाले कार्यकर्ताबीचको झडपबाट सुरु भएको विवाद प्रशासन, राजनीतिक नेतृत्व र स्थानीय समूहहरूको सक्रियतापछि समाधानतर्फ उन्मुख हुन थालेको छ।
बुधबार युवासंघले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा पुग्न लाग्दा जेनजी समूहले प्रदर्शन गरिरहेको थियो। सोही क्रममा एमालेसमर्थक कार्यकर्ताले जेनजी समूहका स्थानीय संयोजक सम्राट उपाध्यायसहितका केही युवामाथि कुटपिट गरेका थिए।
घटना सार्वजनिक भएपछि ठूलो संख्यामा जेनजी युवा सडकमा झरेपछि सिमराको वातावरण तनावग्रस्त बन्यो। स्थिति बेकाबु बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपर्यो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले वार्ताका लागि जेनजी प्रतिनिधिहरूलाई बोलाए पनि मुख्य दोषी पक्राउ नपरेसम्म वार्तामा नबस्ने अडान जेनजी समूहले राख्यो।
बिहीबार बिहान किटानी जाहेरीका आधारमा प्रहरीले दुई वडाध्यक्षलाई पक्राउ गर्यो। बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अरविन्द साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएपछि वातावरण केही सहज हुँदै गएको बताइएको छ।
तर मुख्य व्यक्तिको गिरफ्तारी भए पनि जेनजी समूह तत्काल वार्तामा तयार नभएपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, हामी नेपालका संयोजक सुदन गुरुङ, जेनजी प्रतिनिधि पुरूषोत्तम यादव र डा. अभिषेक सिंहको टोली सिमरा पुगेको थियो।
डा. सिंहका अनुसार राति ढिलोसम्म जेनजी युवासँग वार्ता भएको र सहमतिको ढोका खुल्न थालेको छ। जेनजी समूहले उठाएका अन्य मागबारे पनि छलफल भइरहेको उनको भनाइ छ। बिहीबार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच पुनः झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो। कर्फ्यू साँझ ८ बजेसम्म कायम राखिएको थियो।
झडपमा ६ जना प्रहरी र ४ जना जेनजी युवा घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ भने दुई जनाको सिमरा अस्पतालमा उपचार भइरहेको छ।













