माइतीघरमा तनाव: एमालेको कार्यक्रम रोक्न जेनजी घाइतेहरू उपस्थित, प्रहरीले संयमत अपनाउन आग्रह

User Image Prime TV News १८ घण्टा अगाडि
Image of माइतीघरमा तनाव: एमालेको कार्यक्रम रोक्न जेनजी घाइतेहरू उपस्थित, प्रहरीले संयमत अपनाउन आग्रह

काठमाडौ । नेकपा एमालेले गठन गर्न लागेको नेसनल भोलेन्टियर फोर्स घोषणाका लागि माइतीघर मण्डलामा भेला हुन खोजिरहेका बेला जेनजी आन्दोलनका घाइतेहरू त्यही उपस्थित भई कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरेका छन्।

उनीहरूले आफूहरू न्यायका मुद्दामा लडिरहेको भन्दै माइतीघरलाई राजनीतिक प्रदर्शनको स्थल बनाउन नदिने चेतावनी दिएका छन्। एमाले युवाहरू माइतीघरबाट नयाँ बानेश्वर हुँदै बबरमहलको कार्की व्यांक्वेट सम्म मार्चपास गर्दै भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा सहभागी हुने तयारीमा थिए।

भदौ २३–२४ को घटनापछिको सामाजिक निराशा, असुरक्षा र अव्यवस्थित वातावरणलाई सम्बोधन गर्ने उद्देश्यले ‘भोलेन्टियर फोर्स’ गठन गर्न लागिएको एमालेको भनाइ छ। तर माइतीघरमा अचानक जेनजी पक्षका घाइतेहरू भेला भएपछि दुवै समूह आमनेसामने हुने स्थिति बनेको छ। उनीहरूले दलगत शक्ति प्रदर्शनले न्यायको आन्दोलनको भावना कमजोर पार्ने भन्दै कार्यक्रम रोक्न आग्रह गरेका छन्।

स्थिति चर्किनसक्ने देखिएपछि प्रहरीले माइतीघर क्षेत्रमा माइकिङ गर्दै आज त्यहाँ कुनै भेला आयोजना गर्न अनुमति नलिएको जानकारी गराउँदै दुवै पक्षलाई संयमित रहन आग्रह गरेको छ। प्रहरीका अतिरिक्त टोली तैनाथ गरेर सम्भावित भिडन्त रोक्न सतर्कता अपनाइएको छ।