मानव अधिकार आयोगले शान्ति प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गरायो

User Image Prime TV News एक महिना अगाडि
Image of मानव अधिकार आयोगले शान्ति प्रक्रिया छिटो टुंग्याउन सरकारको ध्यानाकर्षण गरायो

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितका गुनासा सम्बोधन गर्दै शान्ति प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै विगतका सिफारिस कार्यान्वयन गर्न, संक्रमणकालीन न्याय प्रणालीको अन्तिम निष्कर्षमा ध्यान दिन र पीडितको सन्तुष्टिमा जोड दिन निर्देशन दिएको हो ।

आज २०६३ मंसिर ५ मा नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबीच भएको शान्ति सम्झौताले १९ वर्ष पूरा गरिसकेको छ। तर आयोगका अनुसार अझै पनि धेरै द्वन्द्वपीडितले न्याय पाएका छैनन्। सम्झौतामा बेपत्ता भएका र युद्धमा मारिएका व्यक्तिहरूको विवरण सार्वजनिक गर्ने व्यवस्था भए पनि यो कार्य अझै पूरा भएको छैन।

आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन ढिला हुनु, ऐन निर्माण नहुनु र विगतका आयोगहरूले पनि न्यायमा टुंगो नपुर्याउनु जस्ता विषय चिन्ताजनक रहेको जनाएको छ। हालै जेनजी आन्दोलनपछिका राजनीतिक परिवर्तनको सन्दर्भमा आयोगले विभिन्न प्रदेशमा स्थलगत अनुगमन गरेको थियो।

त्यहाँ पीडित र सरोकारवालासँगको छलफलमा उजुरीको गोपनीयताप्रति शंका, न्यायमा ढिलाइ, उपचारमा पहुँच नपुग्नु, आयोग गठनमा परामर्श नलिनु, राहत–परिपूरण नपाउनु र यौनजन्य हिंसाका पीडितले उजुरी गर्न डराउनु जस्ता गुनासोहरू उठेका थिए।

बेपत्ता भएकाका परिवारले मृत्युसंस्कार, सम्पत्ति हस्तान्तरण र संवेदनशील मुद्दामा राजनीतिक सहमति नबनेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। आयोगले जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तले पीडितका मुद्दा ओझेलमा पर्न सक्ने डर व्यक्त गरेको छ।