सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको मन्त्री घिसिङद्धारा स्थलगत अनुगमन

User Image Prime TV News १५ घण्टा अगाडि
Image of सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको मन्त्री घिसिङद्धारा स्थलगत अनुगमन

धनुसा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका हुन् ।

सोही क्रममा मन्त्री घिसिङले उक्त पुल समग्र मधेश क्षेत्रको विकासको लागि अत्यन्तै महत्वपूर्ण रहेकोले तिब्र गतिमा निर्माण कार्य अगाडी बढाईने प्रतिबद्धता जनाएका छन्ज । विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेकोमा दोषी देखिएकालाई कानुन बमोजिम कार्वाही गरिने भन्दै मन्त्री घिसिङले पुलको निर्माणका लागि बजटेको कमी हुन नदिने पनि बताए ।

तराई मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणकै क्रममा  १७ असार २०७८ मा कमला नदीमा आएको बाढीले दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो ।

क्षति पुगेका स्लावमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी रहेका छन् । विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तयार गरी स्वीकृत गरिएको छ । स्वीकृत परिमार्जित डिजाइन बमोजिम पुल निर्माण तथा पुनस्र्थापना आगामी असारभित्र सम्पन्न गरी यातायाता सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।