प्रचलित कानून नभएका कारण धुर्मुस सुन्तली फाउण्डेशनको ऋण फर्छ्यौट गर्न सकिएनः भरतपुर महानगरपालिका

User Image Prime TV News १४ घण्टा अगाडि
Image of प्रचलित कानून नभएका कारण धुर्मुस सुन्तली फाउण्डेशनको ऋण फर्छ्यौट गर्न सकिएनः भरतपुर महानगरपालिका

काठमाडौ । भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनको ऋण फर्छ्यौट गर्न संघीय सरकारले पठाएको रकम हालसम्म भुक्तानी नभएको जनाएको छ।

महानगरले प्रचलित कानून नभेटिएको कारणले भुक्तानी रोकिएको दाबी गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले विज्ञप्ती जारी गर्दै संघीय सरकारले रकम पठाए पनि कुन ऐन, कार्यविधि वा कानुनअनुसार भुक्तानी गर्ने भन्ने स्पष्ट निर्देशन नपाएको कारण अन्योल भएको जनाएको छ ।

“यो राज्य र नागरिकबीचको विषय हो, तर कानुनी आधारबिना रकम दिन सकिँदैन,” विज्ञप्तीमा भनिएको छ । महानगरले सार्वजनिक खरिद ऐन, स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक ऐनको अध्ययन गर्दा पनि निजी दायित्व भुक्तानीको स्पष्ट कानुनी प्रावधान नभेटिएको उल्लेख गरेको छ।

यही कारणले कानुनविद्, विज्ञ र पूर्व प्रशासकहरूसँग परामर्श गरी मात्रै प्रक्रिया अघि बढाउने योजना बनाएको जनाएको छ । पहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा राष्ट्रिय खेलकुद परिषद्बाट १२ करोड रूपैयाँ सशर्त बजेटको रूपमा फाउण्डेशनको ऋण भुक्तानीको व्यवस्था भए पनि अर्थ मन्त्रालयले प्रचलित कानून अनुसार गर्ने निर्देशन दिएको हुँदा भुक्तानी रोकिएको थियो।

महानगरले अब स्पष्ट कानूनी आधार तयार भएपछि मात्र फाउण्डेशनको रकम भुक्तानी गर्ने जनाएको छ।