प्रधानमन्त्री कार्कीको ‘विद्रोह’ अभिव्यक्तिप्रति एमाले अध्यक्ष ओलीको आपत्ति

User Image Prime TV News १२ घण्टा अगाडि
Image of प्रधानमन्त्री कार्कीको ‘विद्रोह’ अभिव्यक्तिप्रति एमाले अध्यक्ष ओलीको आपत्ति

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले दिएको ‘सरकार असफल भए देशमा ठूलो विद्रोह हुन सक्छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एमालेको स्वयम्सेवी दस्ता नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीको टिप्पणी गैरजिम्मेवार र अस्थिरता उकास्ने प्रकृतिको भएको बताए।

दुई दिनअघि राजनीतिक दलका नेतासँगको भेटघाटमा प्रधानमन्त्री कार्कीले सरकार असफल भए देशमा ठूलो विद्रोह हुनसक्ने चेतावनी दिएको उल्लेख गर्दै ओलीले सो अभिव्यक्तिलाई अस्वीकार्य भन्दै “देशमा थप विध्वंस मच्चाउने तपाईंको योजना हो कि सपना? योजना हो भने त्यो पूरा हुन दिइँदैन। सपना हो भने यस्ता विध्वंसकारी सपना देख्न छोड्नुहोस्।” प्रश्न गरे ।

अध्यक्ष ओलीले राज्य संयन्त्रमात्रले सबै नागरिक, जनधन, उद्योग व्यवसाय तथा सञ्चारगृहको प्रभावकारी सुरक्षा गर्न नसक्दा एनभीएफ गठन गरिएको बताए। उनका अनुसार शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा जनसहयोगका क्षेत्रमा दस्ता सक्रिय रूपमा खटिनेछ।

ओलीले भने “यदि कसैले शान्ति भंग गर्ने प्रयास गर्छ भने रोक्ने जिम्मा यो फोर्सले सम्हाल्नेछ। आगजनी र तोडफोड जस्ता राक्षसी गतिविधि चलाउन खोजे एनभीएफ तत्पर रहनेछ।” फोर्सलाई कुनै राजनीतिक वैमनस्य राखेर सिर्जना गरिएको नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले “यो दस्ता एमालेका समर्थक मात्र होइन, हामीसँग असहमति राख्ने नागरिकको पनि सुरक्षा गर्छ” भने ।

उनले हालै ‘जेनजी’ को नाममा नक्कली समूहहरू खडा भएर अराजकतामूलक गतिविधि भएको दाबी समेत गरे ।