आन्दोलनरत ‘जेनजी’ समूह र प्रशासनबीच सहमति

User Image Prime TV News ७ घण्टा अगाडि
Image of आन्दोलनरत ‘जेनजी’ समूह र प्रशासनबीच सहमति

काठमाडौ । बारामा जेनजी समूह र स्थानीय प्रशासनबीच सहमति भएको छ। सशस्त्र प्रहरीको रुद्रवाहिनी गणमा बसेको बैठकले पछिल्लो केही दिनयता बढ्दै गएको विवादलाई शान्त रूपमा समाधान गर्ने सहमति भएको हो ।

वार्तामा सहभागी जेनजी प्रतिनिधि पुरुषोत्तम यादवका अनुसार घाइते आन्दोलनकारीको निःशुल्क उपचार गर्ने र सिमरामा जेनजी युवामाथि कुटपिटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही अघि बढाउने सहमति भएको छ।

आगामी दिनमा झडप हुन नदिन दुवै पक्षले सावधानी अपनाउने र घाइतेको सुरक्षासमेत सुनिश्चित गर्ने सहमति बैठकमा भएको उनले बताए।

यद्यपि सहमति भने लिखित रूपमा तयार गरिएको छैन। यसअघि सिमरामा जेनजी युवामाथि कुटपिट भएको आरोपमा दुई वडाअध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

यसैबीच, काउन्सिल अफ जेनजीका बारा संयोजक सम्राट उपाध्यायले तिलोक शाह ठकुरी, सुनिल गुप्ता, तारा बहादुर बस्नेत र आरिफ खानविरुद्ध पनि भोलि औपचारिक रूपमा जाहेरी दिने तयारी भइरहेको जानकारी दिएका छन्। वार्तामा जेनजी तर्फबाट संयोजक उपाध्यायसहित १८ जना सहभागी थिए।

प्रशासनतर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सुरक्षानिकायका प्रमुखहरू तथा स्थानीय प्रशासनको आग्रहपछि काठमाडौंबाट पुगेका अभियन्ता सुदन गुरुङ र नेता पुरुषोत्तम यादव उपस्थित थिए।

बुधबार सिमरामा नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई जेनजी युवाहरूले रोक्न खोजेपछि उत्पन्न तनावले स्थिति असामान्य बनेको थियो। झडपमा केही युवा घाइते भएपछि प्रशासनले दुई दिनका लागि ‘कर्फ्यु’ जारी गरेको थियो।