लगातार स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको लगातार स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे बीपी स्मृति भवनमा बस्नेछ।
असोज २८ बाट सुरु भएको बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राख्ने कार्य सकिएको थियो। तर १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विवादले बैठक बारम्बार रोकियो।
महाधिवेशनको मितिबारे पार्टी भित्र दुई धारमा विभाजित छ। महामन्त्री गगन थापाले पुस १६–१९ काे मिति प्रस्ताव गरेका छन्। सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० मा महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। यी दुवै प्रस्तावलाई छुट्टाछुट्टै समूहले समर्थन गरेपछि विवाद झन् तीव्र भएको हो। सहमतीको लागि भन्दै अहिले शीर्ष नेताहरू अनौपचारिक छलफलमा व्यस्त छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले मध्यमार्गी समाधान निकाल्ने प्रयास गरिरहेका छन्। प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आज पार्टी नेतृत्वमाथि कुनै निष्कर्ष ल्याउन तीव्र दबाब छ। दुवै प्रस्तावलाई मिलाएर सहमति खोज्ने प्रयासमा इतर समूहका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय सहितका नेताहरू पनि सक्रिय छन् ।













