एनपीएलमा आज कर्णाली–लुम्बिनी र काठमान्डु–विराटनगर भिड्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आजको दिन ‘सुपर स्याटर्डे’ का नाममा झनै तातिएको छ। दुई ठूला खेल हुँदैछन्, जसले लिगको अंकतालिका उल्टपुल्ट पार्ने स्पष्ट संकेत दिइरहेको छ।
पहिलो खेल बिहान सवा ११ बजे त्रिवि क्रिकेट रंगशालामा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुनेछ। कर्णाली पहिलो खेलमै चितवन राइनोजसँग हार खाएर दबाबमा छ।
यदि आज पनि हार्यो भने लिगमा उनीहरूको यात्रा झनै बिग्रन सक्छ। लुम्बिनी भने पहिलो खेलमै चितवनलाई हराएर उत्साहमा छ र लगातार दोस्रो जित निकाल्ने दह्रो लक्ष्यमा मैदान उत्रिँदैछ। गत वर्षको भिडन्तमा कर्णालीले लुम्बिनीलाई ५ रनले हराएको इतिहास आज पुनः दोहोरिन सक्छ वा उल्टिन पनि सक्छ।
दिउँसो ३:३० बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन्। काठमान्डुले दुई खेलबाट एक जित र एक हारजति मात्र निकाल्न सकेको छ।
जनकपुरलाई पाखा लगाएको टिम अर्को खेलमा सुदूरपश्चिमसँग कमजोर देखियो। विराटनगरले भने आफ्नो पहिलो खेलमै पोखरा एभेन्जर्समाथि सहज जित निकालेर बलियो उपस्थिति जनाइसकेको छ।
गत संस्करणमा काठमान्डुले विराटनगरलाई १ विकेटले हराएको रोमाञ्चक इतिहास आजको खेलको पृष्ठभूमिमा फेरि उठिरहेको छ। अंकतालिकामा अहिले सुदूरपश्चिम रोयल्स २ खेलमै २ जितसहित ४ अंक लिएर शीर्षमै छ। एक–एक जित गरेका विराटनगर, लुम्बिनी, चितवन र काठमान्डु क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।













