फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने कांग्रेसको औपचारिक निर्णय
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले राजनीतिक संकटका बीच आउने फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाँच बुँदे निर्णय सार्वजनिक गर्दै वर्तमान अव्यवस्थित अवस्थाबाट निस्कने बाटो चुनाव नै भएको ठहर गरेको हो ।
कांग्रेसले जेनजी पुस्ताको भदौ महिनामा भड्किएको आन्दोलन, त्यसपछि संसद विघटन र अन्तरिम सरकार गठनपछि देशमा सिर्जना भएको अनिश्चिततालाई गम्भीर र असह्य भएको टिप्पणी गरेको छ।
आन्दोलनले उठाएका भ्रष्टाचारविरुद्धका मागलाई न्यायोचित मान्दै पनि आन्दोलनका नाममा भएका आगजनी, लुटपाट र तोडफोडलाई पार्टीले कुरूप र निन्दनीय करार गरेको छ।
भदौ २४ मा सभापति शेरबहादुर देउवा र आरजु राणामाथि भएको सिधा आक्रमण, उनीहरूको निवासमै गरिएको तोडफोड र देशभर १२५ भन्दा बढी स्थानमा आगजनी हुँदा ५७ जनाको ज्यान गएको घटनालाई कांग्रेसले राज्य कमजोर भएको संकेत र अराजकता फैलिएको चित्रका रूपमा प्रस्तुत गरेको छ।
कांग्रेसले पीडितका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार र आन्दोलनका क्रममा लुटिएका हतियार तत्काल फिर्ता गराउन सरकारलाई आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा संसद विघटन गरी संसद बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको कदमप्रति कांग्रेसले खुलेर असहमति जनाएको छ।
संविधानमै संसदभित्रबाट समाधान खोज्ने व्यवस्था हुँदाहुँदै संसद विघटन हुनु कांग्रेसका अनुसार गलत र असंवैधानिक प्रवृत्ति हो। तर मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले अदालतको अन्तिम निर्णय पर्खँदै चुनावी तयारी अघि बढाउने निर्णय बैठकले गरेको छ।
कांग्रेसले मुलुकमा शान्ति सुरक्षा सामान्य नभएको चेतावनी पनि दिएको छ। जेलबाट कैदीबन्दी फरार हुनु, सरकारी हतियार हराउनुजस्ता घटनाले देशलाई चुनावतर्फ धकेल्ने वातावरण कमजोर र जोखिमपूर्ण बनाइरहेको कांग्रेसको निष्कर्ष छ।
भयमुक्त वातावरण बिना चुनाव सम्भव नहुने भन्दै सरकारले सुरक्षा संयन्त्र कडा बनाउनुपर्ने माग गरिएको छ। मुलुकको गम्भीर संकट समाधानका लागि कांग्रेसले विघटित संसदका दलहरू, जेनजी पुस्ता, नागरिक समाज र विभिन्न सरोकारवालाबीच बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको ठहर गरेको छ।
अगिल्लो निर्णयहरूको कार्यान्वयनबारे समीक्षा गर्न कांग्रेसको अर्को बैठक मंसिर ११ गते बस्ने भएको छ।













