सर्वोच्च अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता र सुनुवाइ सुरु हुने


काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनको दर्ता र सुनुवाइ पुनः सुरु गर्ने भएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार एक विज्ञप्ति जारी गर्दै आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार बन्दी प्रत्यक्षीकरणका निवेदनहरू दर्ता तथा सुनुवाइ गरिने जानकारी गराएका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, "यस अदालतमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा सुनुवाइ गर्ने कार्य प्रारम्भ हुने बेहोरा आज बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयानुसार सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ।"
भदौ २४ गते काठमाडौंमा भएको प्रदर्शनको क्रममा सर्वोच्च अदालत सहितका प्रमुख प्रकाशकीय तथा सरकारी भवनहरूमा आगजनी, तोडफोड, ढुंगामुढा र लुटपाटका घटनाहरू भएका थिए ।
उक्त घटनाबाट सर्वोच्च अदालतको संरचनामा गम्भीर क्षति पुगेको थियो। यसप्रति प्रधान न्यायाधीश राउतले गहिरो दुःख व्यक्त गरेका छन्।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ हाललाई एनेक्स भवनमा गरिनेछ। उनका अनुसार आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ।
प्रधान न्यायाधीशले अदालतका महत्वपूर्ण कागजातहरू, मिसिलहरू र भौतिक स्रोत–साधनको सुरक्षामा योगदान गर्ने न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायी, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मी तथा नागरिकप्रति आभार व्यक्त गरेका छन्।