आगामी आमनिर्वाचनमा जानुअघि पार्टीको महाधिवेशन अनिवार्य: गगन थापा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी आमनिर्वाचनमा जानुअघि महाधिवेशन अनिवार्य रूपमा गर्नैपर्ने धारणा सार्वजनिक गरेका छन्।
शनिबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले कांग्रेसले नयाँ नीति, स्पष्ट दिशा र नयाँ नेतृत्वसहित चुनावमा जानु अत्यावश्यक भएको बताए।
उनका अनुसार नियमित महाधिवेशनको समय अब उपलब्ध नभएकाले विशेष महाधिवेशन नै अपरिहार्य बनेको बताए । थापाले पुस मसान्तभित्र आवधिक अधिवेशन नगर्ने र विशेष महाधिवेशन पनि नगर्ने विकल्प कांग्रेससँग नभएको जिकिर गर्दै पार्टीले अब कुनै पनि बहाना बनाएर संगठनात्मक दायित्वबाट पछि हट्न नपाउने बताए।
महामन्त्री थापाले आगामी मंसिर ११ गते बस्ने केन्द्रीय समिति बैठकलाई निर्णायक बैठकका रूपमा चित्रित गरे । उनले सो बैठकले पुसभित्र आवधिक अधिवेशन गर्ने कि मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्ने भन्ने विषयमा अन्तिम निर्णय लिने स्पष्ट संकेत दिए।
थापाले महाधिवेशनको विषयमा पार्टीभित्र सहमति कायम गर्ने प्रयास भइरहेको बताउँदै कांग्रेसले संगठनात्मक स्पष्टता र नेतृत्वको विश्वसनीयता पुनःस्थापित गर्न महाधिवेशन आवश्यक भएको दोहोर्याए ।













