प्रधानमन्त्री कार्कीको विवादास्पद भिडियोबारे ओलीले मागे सरकारसँग जवाफ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसम्बन्धी सार्वजनिक भएको विवादास्पद भिडियोको विषयमा सरकारसँग स्पष्ट जवाब माग गरेका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीको अडियोबारे छुट्याएर सत्य–तथ्य सार्वजनिक नगर्नु सरकारको गम्भीर जिम्मेवारीहीनता भएको टिप्पणी गरे।
ओलीले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भनिएको क्यासेटले मुलुकमा ठूलो राजनीतिक प्रश्न उठाएको भन्दै जनतालाई वास्तविकता थाहा पाउन अधिकार भएको बताए।
उनले भने, “प्रसाईंको जे–जे कुरा होस्, तर सरकारले क्यासेटबारे स्पष्ट धारणा दिनैपर्छ। क्यासेटमा सुनेको आवाज वास्तवमै प्रधानमन्त्रीकै हो कि होइन भन्ने कुरा सरकारले तुरुन्त भन्नुपर्छ।”
उनका अनुसार जेनजी आन्दोलनकै बीच हेलिकप्टर उडेका दृश्यहरू आएको समयमा सुनेको अडियोले प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार टिप्पणीलाई देखाएको आरोप छ। उनले क्यासेटमा सुनेको भनिएको ‘सेनाले नेताहरूलाई बचायो भने किन बचाउने?’ भन्ने अभिव्यक्तिलाई अत्यन्त संवेदनशील र पदको गरिमा विपरीत रहेको बताए।
ओलीले क्यासेट सार्वजनिक भएपछि दुर्गा प्रसाईं पक्राउ परेको प्रसंग उठाउँदै सरकारमाथि दबाबयुक्त कारबाहीको आरोप पनि लगाए। “मानिस समातेर समस्या समाधान हुँदैन, क्यासेटको छिनोफानो हुनुपर्छ,” उनले चेतावनी दिए।













