तीन समूह एक भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा गर्ने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of तीन समूह एक भएर ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ घोषणा गर्ने तयारी

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल (नेसपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी त्याग गरेका सन्तोष परियार समूह बिच एकता हुदैछ ।

तीन पक्षबीचको एकताको घोषणा भोलि बिहान ११ बजे राष्ट्रिय सभा गृहमा गर्ने तयारी भएको बताइएको छ। एकतापछि गठन हुने पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी राखिने भएको छ।

यो नाम चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भइसकेको नेताहरूले जानकारी दिएका छन्। चुनाव चिह्न नेसपाले प्रयोग गर्दै आएको ‘आँखा’ नै रहनेछ भने नयाँ झण्डा भने अझै टुंगोमा पुगेको छैन।

महाधिवेशनसम्मका लागि विभिन्न क्षेत्र र समुदायको सहभागिता रहने गरी करिब पाँच-छ जना नेतृत्व रहने सामूहिक अध्यक्षमण्डल बनाउने सहमति भएको छ।

एकताको पूर्वसन्ध्यामा तीनै पक्षले अलग–अलग रूपमा बैठक र भेला सम्पन्न गरेका छन्। नेसपाको विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक तीनकुनेमा बसेर भट्टराई, संयोजक दुर्गा सोबललगायत नेताहरूले एकता अन्तिम चरणमा पुगेको जानकारी गराए।

उता जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले त्रिपुरेश्वरमा राष्ट्रिय भेला सम्पन्न गर्दै नयाँ पार्टी घोषणाको तयारीबारे नेता शर्माले प्रष्ट पारे। भेलामा राम कार्की, सुदन किराँतीलगायत नेताहरू उपस्थित थिए।

सन्तोष परियार समूहले पनि छुट्टै छलफल गर्दै एकता प्रक्रियामा सहमति भइसकेको जनाएको छ ।