सरकार र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान विच सहमती, नेपाल बन्द र आमहड्ताल फिर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बीच भएको वार्ताले आज घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्ताल फिर्ता लिएको छ।
देशलाई अस्थिरतामा धकेल्न सक्ने स्थितिमा बन्दको सूचना तानाशाहीजस्तो हुने भन्दै दुवै पक्षले अन्ततः संवादमार्फत मार्ग खोज्न सहमति जनाएका छन्।
वार्ता शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । बैठकमा महाअभियानले पेस गरेका २७ बुँदे मागमाथि छलफल भएको भन्दै शान्ति सुरक्षाको संवेदनशील अवस्था बिग्रिने जोखिम देखिएकाले बन्द फिर्ता लिएको बताइएको छ ।
महाअभियानतर्फबाट सचिव प्रेमदीप लिम्बुको नेतृत्वमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ सहभागी भए।
सरकारतर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिना वार्तामा बसेका थिए ।
दुवै पक्षले महाअभियानले उठाएका मुद्दाहरू समाधानका लागि निरन्तर छलफल र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै महाअभियानको शीर्ष नेतृत्वसहित अर्को चरणको औपचारिक वार्ता छिट्टै बस्ने सहमति पनि भएको छ ।














