ट्रम्पको शान्ति योजना अन्तिम नभएको घोषणा, युक्रेनले कडा असन्तोष प्रकट
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले सार्वजनिक गरेको शान्ति प्रस्तावलाई लिएर उठेको विवादबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले सो योजना अन्तिम नभएको बताएका छन्।
प्रस्तावका धेरै बुँदा बिघटनकारी र युक्रेनविरुद्ध अन्यायपूर्ण भएको आरोप चलेपछि ट्रम्पले स्पष्टीकरण दिन बाध्य भएको देखिन्छ।
ह्वाइट हाउसमा पत्रकारले “के यो नै युक्रेनका लागि अन्तिम प्रस्ताव हो?” भनेर सोध्दा ट्रम्पले सिधै भने, “होइन, यो मेरो अन्तिम प्रस्ताव होइन।” उनले युद्ध लामो तानिँदै जाँदा स्थिति अझ भयावह बन्न लागेकाले कुनै उपाय खोज्नैपर्ने बताए। अमेरिकी प्रस्ताव निकै कठोर र युक्रेनको पक्षमा हानिकारक भएको भन्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै भनेका थिए, “हामीले या आफ्नो गरिमा या अमेरिकाको साथ मध्ये एक छोड्नुपर्ने खतरा छ।” युरोप, क्यानडा र जापानका नेताहरूले पनि प्रस्तावमा केही उपयोगी तत्व देखिए पनि सीमा परिवर्तन, युक्रेनी सेना घटाउने र नेटोमा प्रवेश नगर्ने जस्ता बुँदाहरू अत्यन्त संवेदनशील भएकाले अझ धेरै काम आवश्यक रहेको बताएका छन्। आइतबार जेनेभामा ब्रिटेन, फ्रान्स, जर्मनी, अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरूबीच बैठक बस्दैछ। यही बैठकमा विवादित प्रस्तावका सबै बुँदाहरू पुनः छलफल हुने अनुमान छ। ट्रम्पको २८-बुँदे योजना रुसतर्फ झुकेको आरोप बढ्दै गएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै यसलाई सम्भावित सम्झौताको आधार बन्न सक्ने बताएका छन्, जुन टिप्पणीले योजनाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।













