काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाइयो, निषेधाज्ञा खुकुलो


काठमाडौ । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसो लागू गरिएको कर्फ्यु हटाएको छ। अब कर्फ्यु प्रत्येक दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने छ। त्यस्तै, निषेधाज्ञा पनि खुकुलो बनाइएको छ। सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा लागू हुनेछ। बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ।
जेनजी आन्दोलनको क्रममा हिंसा भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको थियो। तर, अहिले अवस्था केही सहज बन्दै गएको छ। कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाइएसँगै काठमाडौं उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारीसाधन तथा मानिसहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको देखिएको छ।
भदौ २३ गते सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन हिंसात्मक भएपछि सरकारले भदौ २४ गते राति १० बजेदेखि सुरक्षा जिम्मा नेपाली सेनालाई दिएको थियो।
सुरुमा देशभर कर्फ्यु आदेश जारी गरिएको भए पनि हाल त्यसलाई काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहेकका केही जिल्लाहरूमा भने जिल्ला प्रशासन कार्यालयहरूले आ-आफ्नो निर्णय अनुसार कर्फ्यु र निषेधाज्ञा लागू गरेका छन्।