पुस मसान्तसम्म महाधिवेशन गर्नै पर्छ भन्ने मेरो अडान यथावत् छ: डा शेखर कोइराला
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको मिति निर्धारणमा बढ्दो विवादबीच संस्थापन पक्षीय २४ केन्द्रीय सदस्यहरूले आइतबार इतर समूहका नेता डा. शेखर कोइरालासँग भेट गरी नियमित महाधिवेशन पुस मसान्तभित्रै गर्ने आफ्नो मागमा समर्थन प्रदान गर्न आग्रह गरेका छन्।
भेट काठमाडौंको विशालनगरस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा भएको हो। केही दिनअघि नै उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे मागपत्र दर्ता गराएका थिए । जसमा मंसिर मसान्तभित्र महाधिवेशन प्रक्रिया सुरु गरी पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने मुख्य माग छ।
कोइरालासँग मागपत्रबारे विस्तृत जानकारी केन्द्रीय सदस्यहरू डा. मिनेन्द्र रिजाल, बद्री पाण्डे, जीवन परियार, सञ्जय गौतम र डा. गोविन्दराज पोखरेलसहितका नेताहरूसँग बसेर उनीहरूले आफ्नो अडान र मागबारे विस्तृत रूपमा जानकारी गराएका थिए।
भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार “हामीले डा. कोइरालालाई नियमित महाधिवेशन समयमा सम्पन्न गर्न पहलकदमी गर्न आग्रह गरेका छौं।” शेर्पाका अनुसार भेटमा डा. कोइरालाले शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी निर्णय नलिनु प्रति आश्चर्य व्यक्त गरे।
उनका अनुसार कोइरालाले “केन्द्रीय कार्यसमितिमा महाधिवेशनको प्रस्ताव किन पेश भएन, मलाई जानकारी छैन। पुस मसान्तसम्म महाधिवेशन सकिनैपर्छ भन्ने मेरो अडान यथावत् छ।”













