जसपा–नेकपा एकता असफल, राजेन्द्र श्रेष्ठ पक्ष नेकपातिर जाने तयारी

User Image Prime TV News १ हप्ता अगाडि
Image of जसपा–नेकपा एकता असफल, राजेन्द्र श्रेष्ठ पक्ष नेकपातिर जाने तयारी

काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टी बीच केही समयदेखि चल्दै आएका एकता वार्ता अन्ततः निष्कर्षविहीन बनेको छ ।

दुवै पक्षबीच अनेक चरणका वार्ता भए पनि सहमति नजुटेपछि एकता नहुने पक्का भएको जसपाका उपमहासचिव प्रदीप यादवले जानकारी दिएका छन्। यादवले भने,“हाम्रो पार्टीले निर्णय गरिसक्यो, नेकपासँग एकता हुँदैन।

तर व्यक्तिगत रूपमा कोही जान चाहन्छ भने पार्टीले रोक्न सक्दैन।” उनका अनुसार जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलाई पनि नेकपामा नजान आग्रह गरिएको छ । तर, श्रेष्ठले आग्रह मान्ने सम्भावना कम रहेको पनि उनले उल्लेख गरे।

यादवका अनुसार जसपा अब केही पहिचान अधिकारवादी दलसँग मोर्चा वा गठबन्धन बनाउने तयारीमा छ। जसपा र नेकपा एकता सफल नभए पनि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह भने नेकपामा प्रवेश गर्ने तयारीमा देखिएको छ।

श्रेष्ठ सुरु देखिनै पार्टी एकता पक्षधर थिए तर जसपा भित्र सहमति नबनेपछि उनी आफ्ना समर्थकसहित नेकपामा जाने निर्णयतर्फ उन्मुख भएका हुन्। जसपाकी केन्द्रीय सदस्य दुर्गा सुदेवीका अनुसार श्रेष्ठ नेतृत्वको समूहले मंसिर १० गते बृहत् कार्यक्रममार्फत नेकपामा प्रवेश गर्ने तयारी गरिएको छ ।