सहकारी पीडित बचतकर्ताहरूले बुद्धनगरमा प्रदर्शन, पदाधिकारीको राजीनामा माग
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सहकारी पीडित बचतकर्ताहरूले आइतबार बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले कार्यालयका पदाधिकारीहरूको राजीनामा माग गर्दै आफ्नो बचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष कुश्लव केसीले ३८ महिनादेखि पीडितहरू आन्दोलनरत भए पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। उनले बताए कि बचतकर्ताको समस्या समाधानका लागि बनाइएको कार्यालयमा राजनीतिक नियुक्ति भएका कारण पीडितहरूले न्याय पाएका छैनन्।
केसीले भने,“विगतका सरकारसँग चारवटा सम्झौता भइसकेको थियो। त्यसपछि वर्तमान सरकारसँग पनि पटक–पटक छलफल भयो। प्रधानमन्त्रीसँग भएको छलफलमा उहाँले बचत फिर्ता गराइने सकारात्मक आश्वासन दिनुभएको थियो।”
उनले व्यवस्थापन कार्यालयले मिलानको नाममा बचतकर्ताहरूलाई थप पीडा दिएको आरोप लगाउँदै भने, “हामीले प्रमाण सार्वजनिक गरिसकेका छौं। त्यसकारण पदाधिकारीहरूले राजीनामा दिनुपर्छ। हाम्रो बचत फिर्ता हुनुपर्छ।”
केसीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए र भोलिदेखि माइतीघरमा आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन्। पीडित बचतकर्ताहरूले लामो समयदेखि आफ्नो लगानी फिर्ता पाउने र न्याय सुनिश्चित गर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन्।













