सुदन किरातीको विद्रोह: पार्टीभित्र पुस्तान्तरण र रूपान्तरण नहुँदा नयाँ जिम्मेवारीको घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुदन किरातीको विद्रोह: पार्टीभित्र पुस्तान्तरण र रूपान्तरण नहुँदा नयाँ जिम्मेवारीको घोषणा

काठमाडौ । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीभित्र लामो समयदेखि उठाइरहेका नेतृत्वको पुस्तान्तरण र रूपान्तरण सम्बन्धी माग सुनुवाइ नहुँदा विद्रोह गरेको बताएका छन्।

आइतबार राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता सभामा सम्बोधन गर्दै किरातीले ३७ वर्षसम्म नेतृत्वमा रहेका वरिष्ठ नेताहरूले जेनजी विद्रोहलाई अस्वीकार गरी वृद्धाश्रम बनाएको आरोप लगाएका छन्। उनले भने,“२४० वर्षको राजतन्त्र ढाल्न सक्ने नेताहरू आफैं भित्रका परिवारतन्त्र विरुद्ध पराजित भए।

लोकतन्त्र नेतातन्त्र र नातातन्त्रमा रुपान्तरण भयो। लोकतन्त्रका लडेका नेताहरू भ्रष्टतन्त्रमा परिणत भए। जेनजी युवाहरूको सडकमा रगतका टाटा सुक्न नपाउँदै प्रतिक्रान्तिको हुङ्कार उठ्न थालेको छ।” किरातीले थपे,“हामीले महाभारतका यदुबंशीय सेना रोजेनौँ। बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराई जस्तो कृष्ण रोज्यौँ। लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठायौँ, तर ठूला नेताहरूले हाम्रा मुद्दालाई वृद्धाश्रम बनाइदिए।”

उनले नयाँ पार्टी खोल्ने उद्देश्य स्पष्ट पार्दै भने,“हामीले केवल पार्टी खोल्न चाहेका छैनौँ। जनताको सेवा गर्न विधि र विचारसहितको पार्टी खोल्न चाहन्छौँ। कम्युनिस्ट छोड्नुभयो भन्नुभयो, खोल उतै छोडेका छौँ। हामी गुदी बोकेर आएका छौँ। नयाँ जिम्मेवारी आजदेखि सुरु भएको छ।” किरातीले जेनजी विद्रोहपछि पनि प्रतिक्रान्तिको आवाज उठिरहेको उल्लेख गर्दै विदेशी षड्यन्त्रको आरोप पनि लगाएका छन्।