राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल आबश्यक छः सन्तोष परियार

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल आबश्यक छः सन्तोष परियार

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सन्तोष परियारले नेपालमा बढ्दो राष्ट्रिय संकट समाधानका लागि सबै राजनीतिक दल र नागरिक समाजलाई एकजुट हुन आह्वान गरेका छन्।

आइतबार राजधानी काठमाडौंमा आयोजित एकता घोषणा सभामा बोल्दै उनले देशलाई थप संकटमा फस्नबाट बचाउन सामूहिक बुद्धिमत्ता र पहल आवश्यक रहेको बताए । परियारले देशका चारवटा प्रमुख संकटहरूको पहिचान गर्दै भने, “पहिलो संकट राष्ट्रियता हो।

जेनजी विद्रोह पछि हाम्रो राष्ट्रियता ठूलो संकटमा परेको छ। दोस्रो संकट लोकतन्त्रसँग जोडिएको छ, जसमा संविधान प्रदत्त अधिकार खोसिन सक्छ भन्ने खतरा उत्पन्न भएको छ। तेस्रो संकट संविधानको संरक्षणसँग सम्बन्धित छ, जुन मुर्झाएको छ र यसको संरक्षण आवश्यक छ। चौथो, आर्थिक संकट गहिरिरहेको छ।”

उनले भने, “यदि हामीले अहिले नै सामूहिक पहल र राजनीतिक एकता अवलम्बन गर्न सकेनौं भने, यो देश थप गहिरो संकटमा फस्न सक्छ।” नेता परियारले सरकार र नागरिकबीचको विश्वासको संकटको बारेमा पनि चिन्ता व्यक्त गरे।

विश्वासको संकटले समाजको एकता र राष्ट्रिय समृद्धिलाई ठूलो चुनौती दिएको भन्दै उनले भने, "आजको दिनमा हाम्रो पुस्ताको सबैभन्दा ठूलो चुनौती राज्यको गुमेको विश्वासलाई फर्काउने हो।" नेता परियारले आफ्नो पार्टी र अन्य लोकतान्त्रिक शक्तिहरूसँग मिलेर राष्ट्रिय संकटको समाधानका लागि कार्य गर्ने प्रतिबद्धता समेत जनाए।