अन्तरिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी छलफल दिउँसाे सारियो


काठमाडौँ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय गरिएको छलफल केही घण्टाका लागि सारिएको छ। छलफलमा सहभागी दलहरूले आ–आफ्नो आन्तरिक तयारी गर्नुपर्ने आवश्यकता देखिएकाले छलफलको समय सारिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न राजनीतिक दलका नेतासँग परामर्श गरेका थिए। उनी अन्तरिम सरकार गठन प्रक्रियालाई संविधानसम्मत रूपमा अगाडि बढाउने प्रयासमा छन्। प्रमुख दलहरूले संसद् विघटन नगरी नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने धारणा राखेका छन्। तर, आन्दोलनरत पक्ष जेनजी भने संसद् विघटनको पक्षमा उभिएको छ।
संविधान अनुसार संसद् सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन भन्ने व्यवस्था रहेकाले प्रधानमन्त्री चयन प्रक्रिया पेचिलो बन्दै गएको छ। यद्यपि, दलहरू र आन्दोलनरत पक्षबीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रस्तावमा सैद्धान्तिक सहमति बनेको जनाइएको छ। तर, संसद्को अनुमोदन प्रक्रिया कस्तो हुने भन्ने विषयमा अझै स्पष्ट सहमति जुट्न सकेको छैन।
छलफल आज अपराह्न पुनः बस्ने तयारी गरिएको छ।