राजदूत फिर्ता विवादमा प्रधानमन्त्री कार्कीलाई सर्वोच्चको लिखित जवाफ पेश गर्ने आदेश

User Image Prime TV News १ हप्ता अगाडि
Image of राजदूत फिर्ता विवादमा प्रधानमन्त्री कार्कीलाई सर्वोच्चको लिखित जवाफ पेश गर्ने आदेश

काठमाडौ । सर्वोच्च अदालतले राजदूत फिर्तासम्बन्धी विवादमा अदालत अवहेलनाको आरोपमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मंगलबार आदेश जारी गरेको हो। अदालतले “निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो?” भन्ने विषयमा कारण देखाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री कार्की र परराष्ट्र मन्त्रालयलाई लिखित जवाफ झिकाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चले यसअघि नै अन्तरिम आदेश जारी गरेको थियो। आदेश जारी रहेकै अवस्थामा प्रधानमन्त्री कार्कीले ती राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएकी थिइन्।

हाल चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतहरू मन्त्रालयमा उपस्थित गराइएका छन्। प्रधानमन्त्री कार्कीले अदालतको आदेश पालना नगरेको दाबी गर्दै अधिवक्ता प्रतिभा उप्रेती, प्रेम सिलवाल, अनन्तराज लुइँटेल र विशाल थापाले सर्वोच्चमा रिट दायर गरेका थिए।

उनीहरूले राजदूत फिर्ता प्रक्रियामा अदालतको अन्तरिम आदेश उल्लंघन भएको भन्दै अन्तिम आदेशको माग गरेका छन्। अब प्रतिवादीहरूले १५ दिनभित्र लिखित जवाफ पेस गरेपछि मात्र यस मुद्दाको थप सुनुवाइ अघि बढ्नेछ।