पुराना राजनीतिक दलहरू रूपान्तरण गर्न असफलः जनार्दन शर्मा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । पूर्वमन्त्री जनार्दन शर्माले पुराना राजनीतिक दलहरू रूपान्तरण गर्न असफल भएको आरोप लगाउँदै नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीको स्थापना गरेका छन्।
आइतबार राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा सभामा शर्माले पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नयाँ पार्टीको गठनको उद्देश्य राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण भएको जनाए। शर्माले भने, "हामीले पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ।"
उनले जनयुद्धको नेतृत्व गर्ने माओवादीले पनि आफ्नो क्रान्तिकारी छवि जोगाउन सकेन र पुराना दलहरू सत्तामा बसेर भ्रष्टाचार, नातावाद र कृपावादको चंगुलमा फसेको आरोप लगाए । जनेजी विद्रोहलाई नेपालका युवा पुस्तामा नेतृत्व हस्तान्तरण र पारदर्शित चाहेको उल्लेख गर्दै शर्माले तर पुराना दलका नेताहरू त्यसको भावना विपरीत क्रियाशील भएको टिप्पणी गरे ।
“तत्कालीन माओवादी केन्द्र, कांग्रेस र एमाले जस्ता दलहरू सत्तामा बसेर आफ्नो नेतृत्वमा कुनै गम्भीर रूपान्तरण ल्याउन सकेनन्। यस्ता दलहरू नातावाद र भ्रष्टाचारमा लिप्त भए र आफ्ना कार्यकर्ताहरूको वास्तविक आवश्यकतालाई ध्यानमा राखेनन्,” शर्माले भने।
शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीको स्थापना राजनीतिक परिवर्तनका लागि एक विकल्पको रूपमा भएको समेत बताए। यो पार्टी पुराना दललाई प्रतिस्थापित गर्ने उद्देश्यले नभइ सामाजिक र आर्थिक सुधारका लागि एक साधनको रूपमा काम गर्ने बताए ।
पार्टी घोषणा कार्यक्रममा नेता शर्माले शर्माले पुराना राजनीतिक दलहरुको आलोचना समेत गरे । उनले भने, "कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष र माओवादीले १७ वर्ष सत्ता चलाए, तर देशमा अपेक्षित सुधार आउन सकेन। ठूलो दलका नेताहरूको समय बितेपछि कुन अवस्था पुगेको छ भन्ने कुरा उनीहरूले पनि बुझ्न सकेका छैनन्।"













