प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘नेपाली माटो हाम्रो बाटो’ नारा सहित प्रतिबद्धता सार्वजनिक( प्रतिबद्धता पत्र सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘नेपाली माटो हाम्रो बाटो’ नारा सहित प्रतिबद्धता सार्वजनिक( प्रतिबद्धता पत्र सहित)

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत आफ्नो संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ। राजधानीको राष्ट्रिय सभा गृहमा सम्पन्न पार्टी घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले आगामी राजनीतिक दिशानिर्देश तथा कार्यक्रमसमेत समेटिएको प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

पार्टीले ‘नेपाली माटो हाम्रो बाटो’ नारा अघि सार्दै सुरुवातमै आत्मालोचना र स्वघोषणा गरेको छ। विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै भविष्यमा त्यस्ता कमजोरी नगर्ने स्पष्ट घोषणा गर्दै जनतामाझ नयाँ भरोसा बनाउन खोजेको जनाएको छ ।

सार्वजनिक प्रतिवद्धताअनुसार प्रलोपालाई राजनीतिक, आर्थिक तथा नीतिगत–प्रणालीगत पुनर्सरचना प्रमुख लक्ष्यका रूपमा रहेको छ। सो उद्देश्य हासिल गर्न पार्टीले देशव्यापी पुनर्जागरण आन्दोलन अघि बढाउने, भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने र प्रविधिको विकास तथा आधुनिक प्रयोगलाई प्राथमिकतामा राख्ने उल्लेख गरेको छ।

पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित रहने स्पष्ट गर्दै प्रलोपा नेतृत्वले मौलिकतासहितको नेपाली समाजवादलाई आफ्नो वैचारिक आधार बनाएको छ। समाज विकासका नवीनतम सिद्धान्तअनुसार मार्गदर्शन हुने भएकाले पार्टीको दीर्घकालीन नीति सामाजिक रुपान्तरणतर्फ उन्मुख रहने जनाएको छ।

 

पार्टीले निकट भविष्यमा विस्तृत घोषणापत्र सार्वजनिक गर्ने तयारीसहित देशव्यापी संरचना विस्तार गर्ने प्रक्रियालाई पनि तीव्रता दिने बताएको छ।