एनपीएल दोस्रो संस्करणमा आज दुई कडा भिडन्त, तालिका फेरबदल हुने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of एनपीएल दोस्रो संस्करणमा आज दुई कडा भिडन्त, तालिका फेरबदल हुने संकेत

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा आज सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्स बीच हुनेछ। दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच खेलिनेछ।

अहिलेसम्म सुदूरपश्चिम र विराटनगर दुवै टोली चार–चार अंकका साथ तालिकाको शीर्ष दुई स्थानमा छन्। काठमाण्डु गुर्खाज तीन खेल खेलेर दुई अंकमा सीमित छ र तेस्रो स्थानमा छ।

लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले पनि दुई–दुई अंक जोडेका छन्। जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने अझै अंकविहीन छन्।

जनकपुरले एक मात्र खेल खेलेको छ भने पोखराले दुवै खेल गुमाएको छ, जसले उनीहरूको प्रारम्भिक प्रदर्शन पूर्ण रूपमा कमजोर बनाएको छ।

एनपीएलका सबै खेल कीर्तिपुरमै दिउँसो र साँझ भइरहेको छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ देखि सुरू भएको प्रतियोगिता मंसिर २७ सम्म चल्नेछ।

यो सिजनमा कुल ३२ खेल छन् । लिग चरणपछि तीन प्लेअफ र अन्तिम फाइनल। शनिबारका लागि टिकट दर साधारणतर्फ ५०० र प्रिमियमतर्फ १५०० छ।

अन्य दिनको लिग चरणमा साधारण ५०० र प्रिमियम १००० तोकिएको छ। प्लेअफपछि साधारण टिकट १००० र प्रिमियम २००० पर्नेछ।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्। आजका दुई खेलले अंकतालिकामा ठूलो हलचल ल्याउने निश्चित छ।

विशेषगरी जनकपुर र कर्णालीका लागि हार अब थप समस्याको संकेत बन्नेछ भने शीर्ष स्थानमै बसेका विराटनगर र सुदूरपश्चिमले आफ्नो बढ्दो दबदबा कायम राख्नुभनेर मैदान उत्रिनेछन्।