जेनजी मूभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्की नेतृत्व सरकारको राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेनजी मूभमेन्ट नेपालले माग्यो प्रधानमन्त्री कार्की नेतृत्व सरकारको राजीनामा

काठमाडौ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा मागेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णय, पक्षपात र कुशासन बढाइदिएको आरोप लगाउँदै सरकारलाई बहिष्कार गर्ने घोषणा समेत गरेको छ। संगठनले सरकारका प्रमुख सदस्यहरू संलग्न रहेको भनिएका विविध अनियमितता तथा भ्रष्टाचारका घटनाप्रति चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड रुपैयाँ नोक्सानी हुने निर्णय गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिइएको तथा महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीहरूको डिम्ब बिक्रीमा संलग्न भएको आरोप लगाइएको छ।

त्यस्तै, प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिवले आफन्तलाई नियुक्ति गरेको र गृहमन्त्री ओमप्रकाश अर्यालले काकालाई डीआइजी बनाउन सशस्त्र प्रहरीमा नयाँ दरबन्दी थपेर संगठित दुराचार गरेको आरोप समेत मुभमेन्टले लगाएको छ।

जेनजी मुभमेन्ट नेपालले यी आरोपहरूलाई विद्रोहका आदर्श र सुशासनका लागि जीवन अर्पण गरेका सहिद तथा घाइतेप्रति अपमानको रूपमा चित्रण गर्दै सरकार जनविश्वास र नैतिकता दुबै गुमाइसकेको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीलाई तत्काल राजीनामा दिन र जनआकांक्षामाथि कुठाराघात नगर्न आह्वान गर्दछौँ।” संगठनले कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सत्ता कु गरेर बनेको सरकारको संज्ञा दिँदै देशभरका नागरिकलाई सरकारले ल्याउने निर्णयहरूमा अवज्ञा र सार्वजनिक बहिष्कार गर्न आह्वान समेत गरेको छ।