अमेरिकी बहिष्कारबीच दक्षिण अफ्रिकामा जी–२० शिखर सम्मेलन सम्पन्न
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित दुईदिने जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ। तर सम्मेलन अमेरिकाबिना नै समापन हुनुपरेको कारणले यस वर्षको बैठक असाधारण तथा राजनीतिक रूपमा संवेदनशील बन्यो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी मात्रै भएनन्, उनको प्रशासनले पूरै सम्मेलन बहिष्कार गरेको दक्षिण अफ्रिकी अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी गैरहाजिरीका कारण तय भएको जी–२० अध्यक्षता दक्षिण अफ्रिकाबाट अमेरिकामा औपचारिक रूपमा हस्तान्तरण गर्ने प्रक्रिया रोकिएको छ।
जी–२० को आगामी अध्यक्ष अमेरिका भएकाले दक्षिण अफ्रिका हस्तान्तरण गर्न तयार थियो। तर ह्वाइट हाउसले अन्तिम क्षणमा मात्र दक्षिण अफ्रिकास्थित अमेरिकी दूतावासका एक जुनियर अधिकारीलाई अध्यक्षता ग्रहण गर्न पठाउन खोजेपछि विवाद उत्पन्न भयो।
राष्ट्रपति सिरिल रामाफोसाले उक्त कदमलाई राजनीतिक मर्यादाविरोधी बताउँदै आफूभन्दा धेरै कनिष्ठ अधिकारीलाई अध्यक्षता नबुझाउने घोषणा गरे। दक्षिण अफ्रिकाले अब हस्तान्तरण प्रक्रिया मन्त्रालय–स्तरमा पछि कुनै उपयुक्त समयमै हुने संकेत गरेको छ।
अफ्रिकी भूमिमा पहिलोपटक बसेको जी–२० शिखर सम्मेलन यसपटक परम्परा तोडिंदै उद्घाटनकै दिन घोषणापत्र सार्वजनिक भयो। अमेरिका र अर्जेन्टिनाको विरोधबीच जारी भएको १२२ बुँदे जोहानेसबर्ग घोषणापत्रमा जलवायु प्रकोपपछिको पुनर्निर्माण, ऋणभार न्यूनीकरण, हरित ऊर्जामा रूपान्तरण र गरिब तथा विकासोन्मुख देशहरूका प्राथमिकताहरूलाई केन्द्रमा राखिएको छ।
चीन, रुस, फ्रान्स, जर्मनी, बेलायत, जापान, क्यानाडालगायत धेरै सदस्य राष्ट्रहरूले घोषणापत्रको समर्थन गरेका छन्। घोषणामा युक्रेनबारे केवल एकपटक उल्लेख छ र विश्वका सबै द्वन्द्व अन्त्य गर्न अपिल गरिएको छ।













