प्रधानमन्त्रीको सचिवालयद्वारा नियुक्ति विवादमा दियो जवाफ, गलत प्रचार भन्दै खण्डन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्रीको सचिवालयद्वारा नियुक्ति विवादमा दियो जवाफ, गलत प्रचार भन्दै खण्डन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठको नियुक्ति सम्बन्धमा फैलिएको विवादमा जवाफ दिएको छ। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई नियुक्त गरेको भन्ने आरोप चलेको छ । 

प्रधानमन्त्री सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमा यसलाई अनावश्यक लाञ्छना र गलत प्रचार भन्दै खण्डन गरेको छ। विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा साथमा खट्नुपर्ने भएकाले सुरक्षाका कारण भरोसायोग्य र कानुनसम्मत व्यक्तिलाई नियुक्त गर्नु आवश्यक हुन्छ। यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक रुपमा लाञ्छना लगाएर प्रचार नगरिदिन अनुरोध छ।”

सचिवालयले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताको पक्षमा जिम्मेवार र संवेदनशील व्यवहार गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ। सचिवालयको संरचना सम्बन्धमा तथ्याङ्क दिँदै विज्ञप्तिमा भनिएको छ कि सल्लाहकारको ७ दरबन्दीमध्ये हाल २ मात्रै कार्यरत छन्।

१९ विज्ञ कर्मचारीको दरबन्दीमा ४ मात्रै कार्यरत छन्, जसमध्ये एक अवैतनिक छन्। स्वकीय सचिवालयमा ४१ दरबन्दी भए पनि १४ मात्र कार्यरत रहेको बताइएको छ । यसरी कुल ६७ दरबन्दीमध्ये हाल २० जनाले मात्रै सचिवालय सञ्चालन गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।