नीर शाहको ‘परान’ ले ‘जेरी अन टप’ को बक्सअफिस रेकर्ड तोड्यो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नीर शाहको मुख्य भूमिका रहेको फिल्म ‘परान’ ले अनमोल केसी अभिनीत ‘जेरी अन टप’ को बक्सअफिस रेकर्ड तोड्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनाएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, मंसीर ६ गतेसम्मको रिपोर्टमा ‘परान’ ले २३ दिनमा १४ करोड १६ लाख ५१ हजार रुपैयाँ कमाएको छ। यसअघि ‘जेरी अन टप’ ले एक महिनाभर १२ करोड ९७ लाख ४८ हजार रुपैयाँको व्यापार गरेको थियो।
‘परान’ कात्तिक १४ देखि प्रदर्शनमा आएको छ भने ‘जेरी अन टप’ असोज ३१ बाट हलमा आएको थियो। चौथो सातामा पनि फिल्मले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। बक्सअफिस अनुसार, ‘परान’ का ४ लाख ९९ हजार १६८ टिकट बिक्री भएका छन्, जबकि ‘जेरी अन टप’ का ३ लाख ८९ हजार ७२२ टिकट बिक्री भएको तथ्यांक छ।
निर्देशक दीपक प्रसाद आचार्य (काकु) द्वारा निर्देशित यस फिल्मले प्रदर्शनको पहिलो दिन न्युन कमाइ गरेको भए पनि, सकारात्मक माउथ पब्लिसिटीका कारण छिट्टै दर्शक बढेको थियो। फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय छ।
फिल्मको लगानी गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले गरेका हुन्।













