सरकारले बाँसबाट निर्माण प्रवर्द्धन गर्न मार्गदर्शन स्वीकृत
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले संरचना निर्माणमा बाँसको प्रयोग बढाउन ‘बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२’ स्वीकृत गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको समन्वयमा तयार गरिएको मार्गदर्शन मन्त्री कुलमान घिसिङले स्वीकृत गरेका हुन्।
मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक र औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माण प्रक्रिया व्यवस्थित गर्न सहयोग गर्नेछ। शहरी विकास मन्त्रालयले यसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गर्ने तयारी गरेको छ।
मन्त्री घिसिङका अनुसार, स्टील र कंक्रिटमा आधारित निर्माण महँगो हुने, वातावरणमा नकारात्मक असर पर्ने र ग्रामीण भेगमा सामग्रीको पहुँच सीमित हुने भएकाले स्थानीय रूपमा उपलब्ध बाँसलाई वैकल्पिक निर्माण सामग्रीको रूपमा प्रवर्द्धन गर्ने निर्णय गरिएको हो। बाँस प्रयोग गर्दा निर्माण लागत घट्ने र गरिब तथा विपन्न परिवारलाई टिकाउ आवास निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ।
मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड तय गरेको छ। यसमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र लागत–किफायती संरचना निर्माण गर्न सरल डिजाइन विधि र नमुना घर डिजाइनसमेत समावेश गरिएको छ।
निर्माणका क्रममा शहरी विकास तथा भवन निर्माण विभाग, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र थापाथली क्याम्पस, नेपाल गुणस्तर तथा नापतौल विभाग र मदन भण्डारी विश्वविद्यालयमार्फत आवश्यक परीक्षण गरिएको थियो।












